पृष्ठभुमीः
म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति मिति २०७२ मंसिर २९ गते दर्ता भई औपचारिक रुपमा स्थापित एक विशुद्ध मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना काल देखी नै म्हेन्दोमाया संगीतमा निरन्तर लागि परिरहेका कलाकारहरुको व्यवसायिक जीवनलाई महत्वका साथ हेरिरहेको छ । हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो । त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया (तामाङ) कलाकारहरूको प्रमुख दायित्व हो । यसरी कलाकार संघ जन्म हुनु पूर्वका केही विषयवस्तुहरु जस्तैः म्हेन्दोमाया संगीत विधाको उत्पति, म्हेन्दोमाया कलाकारहरुको जन्म र म्हेन्दोमाया आजको उचाई ‘सम्म आउन कति समय लाग्यो अर्थात् यसको विकासक्रम लगायतका विभिन्न विषयहरुको तल बुँदागत रुपमा छोटो चर्चा गरिएको छ।
क. म्हेन्दोमायाको उत्पति:-
म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९ औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु तिर धादिङ, नुवाकोट र रसुवाको व्यपारिक केन्द्र त्रिशुली आसपासबाट भएको भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा, गोपाल फ्युबा, लेक योन्जन, सागर एस. वाईबा, राम गोम्जा, रोशन फ्युबा तामाङ, युबी मोङग्रेसा, च्याउकी माया तामाङ, हेम वाईबा, आशिक गोङ्बो तामाङ, आरम्भ तामाङ र म्हेन्दोमाया श्रेत्रका पुराना सर्जकहरुको अनुसन्धान र नुवाकोट, रसुवा र धादिङका विभिन्न गाउँका अनुयायीहरुसंग छलफल गर्दा म्हेन्दोमाया भिन्न भिन्न गाउँमा फरक-फरक समयमा गाउन थालेको पाईन्छ । नुवाकोट, धादिङ र रसुवाका मानिसहरु विभिन्न व्यपारिक उद्देश्य तथा मेलापातमा सहभागी हुने क्रममा नुवाकोटको त्रिशुलीमा म्हेन्दोमाया गीतहरुको आदान-प्रदान भएको पाईन्छ ।
ख. म्हेन्दोमाया के हो ?
म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा हो । यो बिशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका ल्हापसङकर्पो भेगमा बसोबास गर्ने सुन्दर तामाङ बस्तीहरुमा तामाङ भाषामा तामाङ जातिले गाउने र तामाङ बस्तिहरुमा लोकप्रिय एउटा मौलिक संगीत हो ।
यसलाई पश्चिमी भेगका तामाङ समुदायले आफ्नो समाजको मुख्य साँस्कृतिक नाच, मुख्य गीत र एक अति महत्वपूर्ण गहनाको रुपमा लिएको पाईन्छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले म्हेन्दोमाया नाचलाई प्रदर्शनकारी लोक नाटकको रुपमा पनि परिभाषित गरेको छ । जहाँ महिला र पुरुषले अत्यन्तै मिठासपुर्ण तरिकाले कुनै पनि शुभकार्य, चाडपर्ब, बिबाह, ब्रतबन्ध, घेवा (अन्तिम संस्कार) तथा अन्य बिभिन्न कार्यक्रमहरुमा कुनै एक सर्त (चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त राख्न पनि पछि पर्दैनन्) राखी महिला एकातिर र पुरुष अर्कोतिर एक आपसमा खुट्टाको ताल मिलाई (स्याफ्रु डिक्जीम), कुममा कुम मिलाई र हातमा हात समाई बिचमा सगुन (रक्सी, विभिन्न किसिमका फलफुल तथा खानेकुराहरु) राखी युवा युवती सहित सबै उमेर समुहका व्यक्तिहरुले आफ्नो गला र कला देखाउदै गाउने, नाच्ने र नचाउने गर्दछन् ।
म्हेन्दोमाया गाउने मात्र नभई संगै नाच्ने पनि हुनाले म्हेन्दोमायाको आफ्नै मौलिकता छ । एकताका लोप भईसकेको म्हेन्दोमाया गीतहरुलाई हाल आएर सर्जकहरुले आफ्नो कला तथा गलाको प्रयोग गरी सजिलै हेर्न तथा सुन्नको लागि Audio तथा Video मा उपलब्ध गराईरहेका छन् । बिगत दुई दशक भन्दा अगाडी तत्कालीन म्हेन्दोमाया युवा समाजको सक्रियतामा हेम वाईबाको शब्द संगीतमा यो विधालाई Audio र Video मार्फत सार्वजानिक रुपमा औपचारिकता दिएका थिए ।
हाल आएर यो विधाको अनुसन्धान तथा व्यावसायीक हिसाबले थुप्रै ब्यक्तित्वहरु लागी परेका छन र लाग्ने क्रम पनि बढीरहेको छ । समय र परिस्थिति अनुसार म्हेन्दोमाया गितहरुले बिस्तारै आफ्नो सीमित क्षेत्रलाई बीट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुदैछ र समाजसंगै म्हेन्दोमाया पनि बिस्तारै आधुनिकता तर्फ फड्को मारीरहेको छ र यो विधाको तिब्र रुपमा बिकास हुदै गईरहेको छ ।
ग. म्हेन्दोमायाको विकासक्रम:-
राजधानी देखि पश्चिमका (त्रिशुली पारि) तामाङहरुको मौलिक र परम्परागत गीत भाकाहरु तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्वपूर्ण छ । जस मध्ये म्हेन्दोमाया अत्यन्त लोकप्रिय भाका हो। तामाङहरुको जीवन शैली र जीवन पद्धतिमा खास भूमिका राख्ने यो भाका र नाचले खासै चर्चा र प्रचार नपाएर ओझेलमा परेका म्हेन्दोमाया भाकाहरु समेटिएको एल्बम पहिलो पटक हेम वाईबाको संगीत संकलनमा म्युजिक नेपालमा रेकर्ड गरि बि. स. २०५६ सालमा म्हेन्दोमाया नामक एल्बम म्हेन्दोमाया युवा समाज नेपालले बजारमा ल्याएको थियो । जसमा ८ वटा गीतहरु रहेको थियो ।
रेडियो नेपालको फुलबारी कार्यक्रममा बि.स. २०४८ सालमा म्हेन्दोमाया भाकाको पहिलो रेकर्ड लेक योञ्जनको स्वरमा भएको थियो । लेक योन्जनलाई म्हेन्दोमायाका पहिलो गायक हुन्। तत्कालिन समयमा म्हेन्दोमाया युवा समाज नेपालको सामाखुसी स्थित कार्यालयमा हेम वाईबाले गितार, हार्मोनियम तथा किबोर्ड बजाउदै कलाकारहरु रमला पाख्रिन, कमला पाख्रिन, स्व.योगिता मोक्तान र पूर्ण पाख्रिनलाई अभ्यास गरी रेकर्ड गराएका थिए ।
त्यसपछि बि. स. २०५९ सालमा दोश्रो एल्बम कप्चङ, बि. स. २०६२ सालमा ल्हाल्हुङ निकालेका थिए । बि. स. २०६२ सालमै चौथो एल्बमको रुपमा सागर एस. वाईबाको साईकल कोरोरो एल्बम म्युजिक डट कमले बजारमा ल्याएको थियो । त्यस एल्बम पश्चात रोशन फ्युबा र मिना लामाको पाटोला म्हेन्दो, राम गोम्जाको सेम्ला न्हेन, युबि मोङग्रेसाको साईकोले कोउ, आरम्भ तामाङको मुस्ताङ गाडीरी, मनोज लोप्चनको तामार म्हेन्दो तर, सौराम तामाङको सेम्की ल, आशिक गोङ्बो तामाङको कम्ती अरे ङ, किर्ति तामाङको वालावाला ग्रम्परी, जयबीर तामाङको लाउरे दब्बरी, लगायत हालसम्म आईपुग्दा कयौ म्हेन्दोमाया भाकाको एल्बम र कलाकारहरु आगमन हुने क्रम तिब्ररुपमा बढिरहेको छ । जसले गर्दा म्हेन्दोमाया गीत संगीतलाई हुर्काउने र बढाउनेहरु सकारात्मक रुपमा वृद्धि भएको छ । हाल म्हेन्दोमाया गीत पनि स्थानीयबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तराष्ट्रीय सम्मान तथा महत्वपूर्ण अवार्डहरु पाउन समेत सफल भैसकेको छ ।
म्हेन्दोमाया गीतहरुलाई भिडियो मार्फत योगदान दिने क्रममा थुप्रै म्हेन्दोमाया हस्तीहरुको निकै महत्वपूर्ण भुमिका रहेको जसमा सागर एस. वाईबाको चच्चारानी एल्बमबाट आफ्नै निर्देशनमा अभिनय गर्दै म्हेन्दोमाया क्षेत्रमा प्रवेश गरेका राज किङ वाईबा, राम गोम्जाको एल्बम सेम्ला न्हेन बाट म्हेन्दोमाया क्षेत्रमा प्रवेश गरेका मान बहादुर गुरुङ र मनोच लोप्चनको एल्बम तामर म्हेन्दो तर बाट अभिनय सुरु गरेका सिङ्गा बहादुर तामाङ लगायतका कलाकारहरुको महत्वपुर्ण भुमिका रहेको छ ।
उद्देश्यः
सम्पुर्ण म्हेन्दोमाया कलाकारहरुको हक अधिकार सुचिश्चिताको लागि स्थापना भएको संस्था हो ।
परिचयः
म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति स्थापना भएको एक विशुद्ध मुनाफा रहित समाजिक संस्था हो । हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो । त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया कलाकारहरूको प्रमुख दायित्व हो ।
संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए पहिचान हराउँछ भन्ने नाराका साथ तामाङ संस्कृतिको विकासको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल संस्थागत रूपमा निरन्तर अगाडी बढिरहेको छ। संस्कृति र संस्कार बचाउन श्रष्टा एवम् सर्जकहरुलाई प्रोत्साहित गर्दै यसको विकास गर्न संघले संस्कार र संस्कृति केन्द्रित गतिविधिहरु गर्दै आइरहेको छ।
महत्वः
म्हेन्दोमाया कलाकार संघ नेपालले सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी तामाङ कला संस्कृति र म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने उद्देश्यका साथ स्थापना भएकोले यसको महत्व रहेको छ । साथै तामाङ समुदायको विभिन्न किसिमका आन्दोलनहरुमा सहभागिता जनाउँदै आएको हुनाले यसको अझै बढी महत्व रहेको छ ।
औचित्यः (Significance)
म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ ।
यसरी तामाङ समुदायको मौलिक कला संस्कृतिको उत्थान तथा पश्चिमेली तामाङ समुदायमा अत्यन्तै लोकप्रिय म्हेन्दोमाया संस्कृतिको परीधी राष्ट्रिय तथा अन्तराष्ट्रीयस्तरमा व्यापक भैइसक्दा पनि यसको उत्थानको निमित्त बिगत २ दशक भन्दा लामो समयदेखी म्हेन्दोमाया संगीतमा समर्पित म्हेन्दोमाया श्रष्टाको हक-हित, उनीहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनको जटिल समस्या समाधान र उनीहरुलाई यही क्षेत्रमा निरन्तर लागि रहन प्रोत्साहनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालले अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने हेतुले स्थापना भएको सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको साझा संस्था हो।
हाल सम्म संस्थाले गरेका केही महत्वपूर्ण कार्यक्रमहरुः
- २०७२ सालको महाभुकम्पमा नुवाकोट रसुवा र धादिङका विभिन्न ठाँउहरुमा राहात सामाग्री वितरण तथा तथा पुनः निर्माण कार्यक्रम गरिएको ।
- २०७३ सालमा रक्तदान कार्यक्रम
- ब्लड क्यानसरबाट पिडित खनियाबास-५ धादिङ निवासी बिरेन तामाङ बचाउ अभियान सहित धादिङ र नुवाकोट विभिन्न ठाँउमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको ।
- हरेक बर्ष ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गरिएको
- हरेक बर्ष म्हेन्दोमाया कन्सर्ट गरिएको
- नुवाकोट, धादिङ र रसुवाको संगमस्थल सिङल्हामा म्हेन्दोमाया प्रतियोगिता गरीएको
- कलाकार संघको अक्षयकोष स्थापनाको लागि हरेक बर्ष देउसी भैलो कार्यक्रम गरिएको
- भैपरी आउँदा कलाकारहरुलाई आर्थिक सहयोग गरिएको
- म्हेन्दोमायामा समर्पित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको
- तामाङ जातिको विभिन्न किसिमका साँस्कृतिक आन्दोलनहरुमा र्याली सहित सहभागी
- विभिन्न संघ संस्थाहरुले आयोजना गरेको साँस्कृतिक कार्यक्रमहरुमा मौलिक प्रस्तुति दिएको
- स्टेज कार्यक्रमको ईतिहासमै पहिलोपटक कलाकारहरुले तामाङ जातिको मौलिक बाजा सहित २ वटा लाईभ म्हेन्दोमाया र दोरा गीत प्रस्तुत गरिएको ।
- विभिन्न किसिमका बाजाहरु खरीद गरिएको ।
- नुवाकोट र धादिङ जिल्लामा जिल्ला शाखा विस्तार गरिएको छ । यसैगरी धादिङको रुवीभ्याली, खनियाबास र नेत्रावती डब्जोङ गरी ३ वटा पालिका र नुवाकोटको किस्पाङ र म्यगाङ गरी जम्मा ५ वटा पालिकाहरुमा शाखा विस्तार गरिएको छ ।
आ.व. ०७८/७९ मा भएका संस्थागत प्रगति विवरण
म्हेन्दोमाया कलाकार संघ नेपालको लागि यो बर्ष खास्सै उपलब्धी मुलक हुन सकेन । केन्द्रीय कार्यसमितिको विभिन्न मितिमा बसेको बैठकहरुद्धारा विभिन्न योजनाहरु बनाई कार्य थालनी गर्ने क्रममा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण पूर्व निर्धारित कार्यक्रमहरु गर्न नसक्दा करिब २०७८ मंसिर महिनाको अन्त्य सम्म संस्था तटस्थ अवस्थामै रहयो । यद्यपी संस्थाले कोरोना महामारीबाट समस्यामा परेका म्हेन्दोमाया कलाकारहरुलाई विभिन्न माध्यायमबाट प्राप्त भएका सहयोगहरु वितरण गरेको थियो ।
यसरी पुर्व निर्धारित विभिन्न कार्यक्रमहरु स्थगित गर्नुपरेको र त्यस पश्चात् विभिन्न प्राविधिक समस्याहरुका कारण संस्थाले तोकेको कुनै पनि कार्यक्रम गर्न नसकेको व्यहोरा सर्ववितितै छ। यसरी संस्थाले कोरोना महामारीको कारण केही गर्न नपाईरहेको अवस्थामा म्हेन्दोमाया कलाकार संघ नेपालको २ बर्षे कार्याकाल पनि सकिनै लागेको अवस्थामा कोरोना महामारीबाट प्रभावित हुने संख्या कम भएको कुरालाई मध्येनजर गर्दै सरकारले केही लचिलो नियम लागु गरेको अवस्थामा उक्त समयको फाईदा उठाउदै केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार मिति २०७८ पौष ०३ गतेको लागि छैटौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन गर्ने निर्णय गर्दै मा. बहादुर सिंह लामा ज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सडक दुर्घटनामा परि गम्भिर घाईते हुनुभएका म्हेन्दोमाया गायक श्री रेशा तामाङज्यूलाई संघको अक्षयकोषबाट नगद सहयोग समेत गरिएको थियो।
यसरी मिति २०७८/०९/०३ गते सम्पन्न म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विस्तारित बैठकबाट कोरोना महामारीको कारण बन्द भएको कार्यालय पुनः सुचारु गरी म्हेन्दोमाया कलाकार संघ नेपालको विभिन्न भेला, बैठक तथा भेटघाट लगायतका कार्यक्रमहरु गर्न सहज होस भन्ने हेतुले कार्यालय स्थपना गर्ने निर्णय गर्दै कार्यालय स्थापना भएको छ । जसमा संघले बिगत खरीद गरेका तथा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट प्राप्त जिन्सी सामानहरु र हाल खरीद गरिएका विभिन्न सामानहरुको व्यवस्थापन गरी राखिएको छ।
कोरोना महामारीका कारण करिब करिब ३ बर्ष म्हेन्दोमाया सम्बन्धी कुनै पनि कार्यक्रम नभएको हुँदा म्हेन्दोमायाको क्रेज घट्दै जाने क्रम देखा पर्दै गएको र मानिसहरुको मनमा पनि म्हेन्दोमाया कलाकारहरुले केही पनि गर्न सकेन भन्ने जनगुनासोलाई मध्येनजर गर्दै म्हेन्दोमाया कलाकार संघ नेपालले कोरोना महामारी र विभिन्न आरोह र अवरोह छिचोल्दै तामाङहरुको महान पर्व २८५८ औं सोनाम ता-ल्हो को पावन अवसर पारेर पूर्व कानुन न्याय तथा संसदीयय मामिला राज्यमन्त्री माननयीय दिलमान पाख्रिन ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८ फाल्गुण १७ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम-२०७८ सम्पन्न गर्न सफल भएको छ। जसमा म्हेन्दोमाया सम्बन्धी स्टेज कार्यक्रमको ईतिहासमै पहिलोपटक कलाकारहरुले तामाङ जातिको मौलिक बाजा सहित २ वटा लाईभ म्हेन्दोमाया र दोरा गीत प्रस्तुत गरेका थिए जुन सबैमाझ अत्यन्तै लोकप्रिय रहयो र सबैतिरबाट प्रशंसा बटुल्न सफल भयो । उक्त कार्यक्रममा संघको श्रीबृद्धिमा निरन्तर रुपमा लागि पर्नु भएका म्हेन्दोमाया कलाकार संघका संरक्षकद्धोय श्री मर्नेन वाईबा तामाङ ज्यू र जोङ्बा कान्छा तामाङज्युलाई विशेष सम्मान गरिएको थियो भने केही कलाकार तथा समाजसेवीहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष वाङ्छु पासाङ तामाङ ज्यूले संघलाई बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ स्थित ३ आना जग्गा म्हेन्दोमाया कलाकार संघ नेपाललाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । उक्त जग्गामा म्हेन्दोमाया कलाकार संघको कार्यालय निर्माणका लागि यस संघका संरक्षक मर्नेन वाईबाज्यूले रु.१,००,०००।– आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
आर्थिक कारोबार पारदर्शी होस भन्ने हेतुले अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त हस्ताक्षर रहने गरी राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा संघको नाममा खाता खोली अबको कारोबार बैंकिङ प्रणाली मार्फत गरिने गरि निर्णय गरिएको छ ।
संस्थाले कार्यालय संचालनको लागि विभिन्न किसिमका जिन्सी सामान सहित केही थान बाजाहरु समेत खरीद गर्न सफल भएको छ ।
म्हेन्दोमाया कलाकार संघ नेपालले आफ्नो नाम र आफ्नो संघको कार्यतालिका सहित २०७९ सालको नेपाली भित्तेपात्रो प्रकाशन गरी विभिन्न ठाँउमा वितरण गरेको छ ।
विदेशमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुलाई आफ्नो कार्यालयमा निमन्त्रणा गरी म्हेन्दोमाया कलाकार र म्हेन्दोमायासंग सम्बन्धी विशेष सल्लाह सुझाव लिने तालिका बनाई सल्लाह सुझावहरु संकलन गरिरहको छ ।
म्हेन्दोमाया कलाकारहरुलाई कुनै पनि ठाँउमा जाँदा आफ्नो परिचय डिजिटल्ली देखाउन सकियोस भन्ने हेतुले म्हेन्दोमाया कलाकार संघ नेपालले आफ्नै नामको वेभसाईट www.mhendomayaartist.org.np मार्फत कलाकारहरुको विस्तृत विवरण डिजिटल्ली अपडेट गरी QR कोड सहितको परिचय पत्र (ID-Card) वितरण गरेको छ ।
म्हेन्दोमाया कलाकार संघले यो बर्ष ३ जना आजीवन सदस्य र १९ जना नयाँ सदस्यहरु थप गर्न सफल भएको छ भने उहाँहरुलाई परिचय पत्र तथा सदस्यताको प्रमाण पत्र समेत वितरण गरेको छ।
नुवाकोट र धादिङ जिल्ला तथा पालिकाहरुमा शाखा विस्तार गर्ने क्रममा मिति २०७९/०५/१२ गते नुवाकोट जिल्ला कार्यसमिति गठन भएको छ । जिल्ला तथा पालिका शाखाहरुको प्रगति विवरण मागी अध्यावधिक गर्ने काम भएको ।
भावी योजनाः
- म्हेन्दोमाया कलाकार संघले आफ्नै अगुवाईमा म्हेन्दोमाया दिम र त्यस भित्र म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय कार्यालय र तामाङ संग्राहलय बनाउने निर्णय गरि बृहत योजनाका साथ अगाडी बढीसकेको छ । हाल उक्त योजनाको विस्तृत अध्यायन, जग्गा नामसारी, भवनको नक्सा र सहयोग संकलनको लागि प्रपोजल लगायतका विभिन्न प्रकृया अगाडी बढीरहेको छ ।
- म्हेन्दोमाया कालकार संघ नेपालको अगुवाईमा निर्माण हुन लागेको म्हेन्दोमाया दिम योजना सफल पार्नको लागि दिपावली २०७९ को पावन अवसरमा ४ दिन देउसी भैलो कार्यक्रम आयोजना गरिनेछ ।
- म्हेन्दोमाया कलाकारहरुलाई म्हेन्दोमाया गीत संगीत सृजना गर्न प्रोत्साहन होस भन्ने हेतुले रोयल्टी वितरण सम्बन्धी प्रकृया समेत अगाडी बढीरहेको छ ।
- म्हेन्दोमाया कलाकारहरुको लागि प्रति कलाकार रु १० लाख बराबारको लाभ हुने गरी बिमा योजना अगाडी बढी रहेको छ ।
- निकट भविष्यमा नै म्हेन्दोमाया कलाकारहरुलाई भोकल क्लास सहितका सबै बाजागाजाहरुको क्लास निशुल्क संचालन गरिनेछ ।
- म्हेन्दोमाया कलाकार संघ नेपालले प्रत्येक बर्ष कम्तिमा २ वटा साँस्कृतिक कार्यक्रम, २ पटक रक्तदान कार्यक्रम, १ पटक सरसफाई कार्यक्रम, २ वटा अन्तरक्रिय कार्यक्रम र विभिन्न ठाँउमा आवश्यक परेको खण्डमा श्रमदान समेत दिने योजना पारित गरेको छ । भने कलाकारहरुलाई गम्भिर किसिमको रोग लागी उपचारमा समस्या भएमा विभिन्न ठाँउमा साँस्कृतिक कार्यक्रम सहित बचाउ अभियान चलाईनेछ ।
- कलाकारहरु वैदेशिक कार्यक्रममा जाँदा केन्द्रबाट विदाई तथा वेलकम कार्यक्रम राखी कलाकारलाई प्रोत्साहित बनाईनेछ ।
- संघका पदाधीकारी तथा अन्य सदस्यहरुले विभिन्न ठाँउमा गर्न सक्ने भ्रष्टाचार नियन्त्रण तथा कलाकारहरुको गुनासो सुन्नको लागि गुनासो तथा सुझाव पेटिका राखिनेछ । जसमा कलाकारहरुले आफ्नो परिचय नखुलाई लिखितम सुझाव तथा अन्य गुनासोहरु पेश गर्न सकिनेछ । कलाकार तथा गुनासो कर्ताले भिडियो वा अडियो मार्फत गुनासो राख्न चाहेमा info@mhendomayaartist.com मार्फत ईमेल पठाउन सकिनेछ ।
- बार्षिक प्रगति विवरणको आधारमा प्रत्येक बर्षको साधारण सभामा विभिन्न जिल्ला तथा पालिकामा रहेका शाखाहरुबाट एउटा शाखालाई बर्षकै उत्कृष्ट शाखा घोषणा गरिनेछ र उक्त शाखालाई ल्होछार विशेष कार्यक्रममा सम्मान गरिनेछ ।
- प्रत्येक कार्यक्रममा कार्यक्रममा म्हेन्दोमाया क्षेत्रलाई विशेष योगदान पुर्याउने १ जना गैर कलाकार तथा म्हेन्दोमाया संगीतलाई निरन्तरता दिईरहने १ जना कलाकारलाई विशेष सम्मान गरिनेछ ।
समस्या
म्हेन्दोमाया कलकार संघ नेपालले स्थापना कालदेखी नै सदैव कलाकारहरुको हक-हित र जीवनस्तर सुधारको लागि समर्पित हुँदै कार्यहरु गर्दै आईरहे पनि केही म्हेन्दोमाया श्रष्टाले संघ र म्हेन्दोमायाको महत्व नबुझी र तथ्यहिन तर्कहरु गर्दै म्हेन्दोमाया गीत-संगीतमा मरिमेटेर के पाईयो ? म्हेन्दोमायामा कलाकार बढी भयो, म्हेन्दोमाया संस्कृति र संगीतको भविष्य छैन, म्हेन्दोमाया मात्र गाएर के गर्ने ? यसको प्रचार-प्रसारले के फाईदा ? जस्ता अनेकौ प्रश्नहरु सृजना गरिरहेको छ । जसले गर्दा म्हेन्दोमाया दर्शक स्रोता र म्हेन्दोमाया संगीतमा लाग्ने सुरसारमा रहेका भावी पुस्ता (Next Generation) लाई नकारात्मक सन्देश फैलिरहेको छ । केही कलाकारहरुले म्हेन्दोमाया संगीतको मर्मलाई ख्याल नगरी म्हेन्दोमाया गीतहरु सृजना गरिदिँदा म्हेन्दोमायाको दर्शक श्रोतालाई नकरात्मक सन्देश फैलिन गैई म्हेन्दोमायाको अस्तित्वमा ठेस पुर्याएको छ । यस्ता क्रियाकलापहरुलाई संघले अनुगमन गर्न नसक्नु पनि समस्याको रुपमा देखिएको छ । कलाकारहरुले समयमा नै सदस्यता नवीकरण नगर्दा संस्थाको आम्दानी पनि घट्दो देखिन्छ। संघले आफनो पूर्व निर्धारित कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि संघमा भएको रकमको उचित प्रयोग गर्न नसक्नु र संघको अक्षयकोषमा पनि रकम थप गर्न नसक्नु पनि मुख्य समस्याको रुपमा देखिएको छ ।
सुझाव
समय-समयमा संघले सम्पूर्ण कलाकार तथा म्हेन्दोमायासंग सम्बन्धीत व्यक्तिहरुको बृहत भेला बोलाई कलाकार संघ र म्हेन्दोमायाको बारेमा बृहत् छलफल गरी कलाकार तथा अन्य व्यक्तिबाट उठीरहेको प्रश्नहरुको बारेमा समयमा नै उचित कदम चाल्नुपर्ने जरुरी देखिन्छ । संघले विगतमा गरिरहेको कार्यक्रमहरुको निरन्तरता र त्यसमा थप कार्यक्रमहरु गरी कलाकारहरुलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ। संघमा भएको आम्दानीलाई पनि उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
निष्कर्ष
म्हेन्दोमाया संगीतमा समर्पीत कलाकारहरुको हक-हितको लागि स्थापित यस संस्था म्हेन्दोमाया श्रष्टा र म्हेन्दोमायासंग सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरुका लागि बढी महत्वपूर्ण रहेको छ । संस्थाले म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गर्दै कलाकारहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनलाई सरल बनाउन निरन्तर कार्य गर्दै आईरहेको छ । संघको उद्देश्य प्राप्तीको लागि म्हेन्दोमाया कलाकारहरु एकीकृत भई यो संस्थालाई अझै सबल, सशक्त र सफल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ ।
प्रतिवेदकः
आशिक गोङ्बो तामाङ
सचिव
म्हेन्दोमाया कलाकार संघ नेपाल
ल्हास्सो फ्याफूल्ला ।
जय म्हेन्दोमाया ।
थुजेछे ।