Home 2024-03-16T08:08:09+00:00

MHENDOMAYA ARTIST ASSOCIATION NEPAL  (म्हेन्दोमाया कलाकार संघ नेपाल)


तामाङ समुदायको मौलिक कला संस्कृतिको उत्थान तथा पश्चिमेली तामाङ समुदायमा अत्यन्तै लोकप्रिय म्हेन्दोमाया संस्कृतिको परीधी राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा व्यापक भैइसक्दा पनि यसको उत्थानको निमित्त बिगत २ दशक भन्दा लामो समयदेखी म्हेन्दोमाया संगीतमा समर्पित म्हेन्दोमाया श्रष्टाको हक-हित, उनीहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनको जटिल समस्या समाधान र उनीहरुलाई यही क्षेत्रमा निरन्तर लागि रहन प्रोत्साहनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालले अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय रुपमा व्यापक बनाउने हेतुले स्थापना भएको सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको साझा संस्था हो ।  हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो। त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया कलाकारहरूको प्रमुख दायित्व हो ।

संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए पहिचान हराउँछ भन्ने नाराका साथ तामाङ संस्कृतिको विकासको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल संस्थागत रूपमा निरन्तर अगाडी बढिरहेको छ। संस्कृति र संस्कार बचाउन श्रष्टा एवम् सर्जकहरुलाई प्रोत्साहित गर्दै यसको विकास गर्न संघले संस्कार र संस्कृति केन्द्रित गतिविधिहरु गर्दै आइरहेको छ।

म्हेन्दोमाया कलाकार संघ नेपालले सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी तामाङ कला संस्कृति र म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने उद्देश्यका साथ स्थापना भएकोले यसको महत्व रहेको छ। साथै तामाङ समुदायको विभिन्न किसिमका आन्दोलनहरुमा सहभागिता जनाउँदै आएको हुनाले पनि यस संस्थाको  महत्व रहेको छ ।

म्हेन्दोमाया कलाकार संघ नेपालको तेस्रो अधिवेशनबाट चयन भएको नयाँ कार्य समिति

……………………………………………………………….

MESSAGE FROM CHAIRMAN

…………………………………………………………………………………………………………………………………..

ल्हास्सो फ्याफुल्ला !

म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ ।

यसरी तामाङ समुदायको मौलिक कला संस्कृतिको उत्थान तथा पश्चिमेली तामाङ समुदायमा अत्यन्तै लोकप्रिय म्हेन्दोमाया संस्कृतिको परीधी राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा व्यापक भैइसक्दा पनि यसको उत्थानको निमित्त बिगत २ दशक भन्दा लामो समयदेखी म्हेन्दोमाया संगीतमा समर्पित म्हेन्दोमाया श्रष्टाको हक-हित, उनीहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनको जटिल समस्या समाधान र उनीहरुलाई यही क्षेत्रमा निरन्तर लागि रहन प्रोत्साहनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालले अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय रुपमा व्यापक बनाउने हेतुले स्थापना भएको सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको साझा संस्था भएकोले संस्थाको लक्ष्य हासिल गर्नको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु।

म्हेन्दोमाया कालाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको हक-हितको सुनिश्चितताको लागि स्थापना भएको मुनाफा रहितको संस्था हो । यस संस्थाले  म्हेन्दोमाया कलाकारहरुको हकहितको सुनिश्चितता गर्न र तामाङ जातिको कला, संस्कृति, भाषा, भेषभुषा, परम्परा तथा रितिरिवाजलाई विश्वमा चिनाउन विभिन्न योजनाहरु अगाडी बढाई कार्य गर्दै आईरहेको छ । उक्त कार्यलाई निरन्तरता दिनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालको भावी योजनाहरु निम्नानुसार उल्लेख गरिएको छ।

  • म्हेन्दोमाया कलाकार संघले आफ्‍नै अगुवाईमा म्हेन्दोमाया दिम र त्यस भित्र म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय कार्यालय र तामाङ संग्राहलय बनाउने निर्णय गरी उक्त योजनाको विस्तृत अध्यायन, जग्गा नामसारी, भवनको नक्सा र सहयोग संकलनको लागि प्रपोजल लगायतका विभिन्‍न प्रकृया अगाडी बढाई कार्य थालनीको अन्तिम चरणमा रहेको।
  • म्हेन्दोमाया कालकार संघ नेपालको अगुवाईमा निर्माण हुन लागेको म्हेन्दोमाया दिम निर्माण योजना सफल पार्नको लागि २०८० दिपावली  को पावन अवसरमा ३ दिन देउसी भैलो कार्यक्रम आयोजना गरिनेछ ।
  • म्हेन्दोमाया कलाकारहरुलाई म्हेन्दोमाया गीत संगीत सृजना गर्न प्रोत्साहन होस भन्‍ने हेतुले रोयल्टी वितरण सम्बन्धी प्रकृया बढीरहेको छ ।
  • म्हेन्दोमाया कलाकारहरुको लागि प्रति कलाकार रु.१० लाख बराबारको लाभ हुने गरी बिमा योजना अगाडी बढी रहेको छ ।
  • म्हेन्दोमाया कलाकारहरुको बृद्धि विकासका लागि निशुल्क कक्षा संचालन गरिनेछ ।
  • म्हेन्दोमाया गीत संगीतको खोज, अध्ययन तथा अनुसन्धान गर्नको लागि विज्ञ सहितको टोली खटाई म्हेन्दोमाया सम्बन्धी थप विवरण सहितको विस्तृत दस्तावेज तयार गरिनेछ।
  • म्हेन्दोमाया कलाकार संघ नेपालले प्रत्येक बर्ष कम्तिमा २ वटा साँस्कृतिक कार्यक्रम, २ पटक रक्तदान कार्यक्रम, १  पटक सरसफाई कार्यक्रम, २ वटा अन्तरक्रिय कार्यक्रम र विभिन्‍न ठाँउमा आवश्यक परेको खण्डमा श्रमदान समेत दिने योजना पारित गरेको छ ।
  • कलाकारहरुलाई गम्भिर किसिमको रोग लागी उपचारमा समस्या भएमा विभिन्न ठाँउमा साँस्कृतिक कार्यक्रम सहित बचाउ अभियान चलाईनेछ ।
  • कलाकारहरु वैदेशिक कार्यक्रममा जाँदा केन्द्रबाट विदाई तथा वेलकम कार्यक्रम राखी कलाकारलाई प्रोत्साहित बनाईनेछ ।
  • संघका पदाधीकारी तथा अन्य सदस्यहरुले विभिन्न ठाँउमा गर्न सक्ने भ्रष्टाचार नियन्त्रण तथा कलाकारहरुको गुनासो सुन्नको लागि गुनासो तथा सुझाव पेटिका राखिनेछ । जसमा कलाकारहरुले आफ्नो परिचय नखुलाई लिखितम सुझाव तथा अन्य गुनासोहरु पेश गर्न सकिनेछ। कलाकार तथा गुनासो कर्ताले भिडियो वा अडियो मार्फत गुनासो राख्न चाहेमा info@mhendomayaartist.org.np मार्फत ईमेल पठाउन सकिनेछ ।
  • बार्षिक प्रगति विवरणको आधारमा प्रत्येक बर्षको साधारण सभामा विभिन्न जिल्ला तथा पालिकामा रहेका शाखाहरुबाट एउटा शाखालाई बर्षकै उत्कृष्ट शाखा घोषणा गरिनेछ र उक्त शाखालाई ल्होछार विशेष कार्यक्रममा सम्मान गरिनेछ ।
  • प्रत्येक कार्यक्रममा कार्यक्रममा म्हेन्दोमाया क्षेत्रलाई विशेष योगदान पुर्याउने १ जना गैर कलाकार तथा म्हेन्दोमाया संगीतलाई निरन्तरता दिईरहने १ जना कलाकारलाई विशेष सम्मान गरिनेछ।
  • म्हेन्दोमाया कलाकारहरुको जीवन स्तर सुधार गर्नको लागि विभिन्न किसिमका सीपमुलक तालिमहरु संचालन गरिनेछ।
  • आवश्यक पोशाक तथा बाजाहरु खरीद गरिनेछ।

      थुजेछे !!

जिम्मेवारी हस्तान्तरण गर्दै

जिम्मेवारी हस्तान्तरण गर्दै

जिम्मेवारी हस्तान्तरण गर्दै

………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….

म्हेन्दोमाया बारे पढ्नुहोस्

………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….

क.   म्हेन्दोमायाको उत्पति:-

म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु तिर धादिङ, नुवाकोट र रसुवाको व्यपारिक केन्द्र त्रिशुली आसपासबाट भएको भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा, गोपाल फ्युबा, लेक योन्जन,सागर एस. वाईबा, राम गोम्जा,रोशन फ्युबा तामाङ,युबी मोङग्रेसा, च्याउकी माया तामाङ, हेम वाईबा,आशिक गोङ्बो तामाङ, आरम्भ तामाङर म्हेन्दोमाया श्रेत्रका पुराना सर्जकहरुको अनुसन्धान र नुवाकोट, रसुवा र धादिङका विभिन्न गाउँका अनुयायीहरुसंग छलफल गर्दा म्हेन्दोमाया भिन्न भिन्न गाउँमा फरक-फरक समयमा गाउन थालेको पाईन्छ। नुवाकोट, धादिङ र रसुवाका मानिसहरु विभिन्न व्यपारिक उद्देश्य तथा मेलापातमा सहभागी हुने क्रममा नुवाकोटको त्रिशुलीमा म्हेन्दोमाया गीतहरुको आदान-प्रदान भएको पाईन्छ ।

ख.   म्हेन्दोमाया के हो ?

म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा हो ।यो बिशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका ल्हापसङकर्पो भेगमा बसोबास गर्ने सुन्दर तामाङ बस्तीहरुमा तामाङ भाषामा तामाङ जातिले गाउने र तामाङ बस्तिहरुमा लोकप्रियएउटा मौलिकसंगीत हो ।

यसलाई पश्चिमी भेगका तामाङ समुदायले आफ्नो समाजको मुख्य साँस्कृतिक नाच, मुख्य गीत र एक अति महत्वपूर्ण गहनाको रुपमा लिएको पाईन्छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले म्हेन्दोमाया नाचलाई प्रदर्शनकारी लोक नाटकको रुपमा पनि परिभाषित गरेको छ । जहाँ महिला र पुरुषले अत्यन्तै मिठासपुर्ण तरिकाले कुनै पनि शुभकार्य, चाडपर्ब, बिबाह, ब्रतबन्ध, घेवा(अन्तिम संस्कार) तथा अन्य बिभिन्न कार्यक्रमहरुमा कुनै एक सर्त (चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त राख्न पनि पछि पर्दैनन्) राखी महिला एकातिर र पुरुष अर्कोतिर एक आपसमा खुट्टाको ताल मिलाई(स्याफ्रु डिक्जीम), कुममा कुम मिलाई र हातमा हात समाई बिचमा सगुन (रक्सी, विभिन्‍न किसिमका फलफुल तथा खानेकुराहरु) राखी युवा युवती सहित सबै उमेर समुहका व्यक्तिहरुले आफ्नो गला र कला देखाउदै गाउने, नाच्ने र नचाउने गर्दछन् ।

म्हेन्दोमाया गाउने मात्र नभई संगै नाच्ने पनि हुनाले म्हेन्दोमायाको आफ्नै मौलिकता छ । एकताका लोप भईसकेको म्हेन्दोमाया गीतहरुलाई हाल आएर सर्जकहरुले आफ्नो कला तथा गलाको प्रयोग गरी सजिलै हेर्न तथा सुन्नको लागि Audio तथा Video मा उपलब्ध गराई रहेका छन् । बिगत दुई दशक भन्दा अगाडी तत्कालीन म्हेन्दोमाया युवा समाजको सक्रियतामा हेम वाईबाको शब्द संगीतमा यो विधालाई Audio र Video मार्फत सार्वजानिक रुपमा औपचारिकता दिएका थिए ।

हाल आएर यो विधाको अनुसन्धान तथा व्यावसायीक हिसाबले थुप्रै ब्यक्तित्वहरु लागी परेका छन र लाग्ने क्रम पनि बढीरहेको छ ।समय र परिस्थिति अनुसार म्हेन्दोमाया गितहरुले बिस्तारै आफ्नो सीमित क्षेत्रलाई बीट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुदैछ र समाजसंगै म्हेन्दोमाया पनि बिस्तारै आधुनिकता तर्फ फड्को मारीरहेको छ र यो विधाको तिब्र रुपमा बिकास हुदै गईरहेको छ ।

ग.    म्हेन्दोमायाको विकासक्रम:-

राजधानी देखि पश्चिमका (त्रिशुली पारि) तामाङहरुको मौलिक र परम्परागत गीत भाकाहरु तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्वपूर्ण छ । जस मध्ये म्हेन्दोमाया अत्यन्त लोकप्रिय भाका हो। तामाङहरुको जीवन शैली र जीवन पद्धतिमा खास भूमिका राख्ने यो भाका र नाचले खासै चर्चा र प्रचार नपाएर ओझेलमा परेका म्हेन्दोमाया भाकाहरु समेटिएको एल्बम पहिलो पटक हेम वाईबाको संगीत संकलनमा म्युजिक नेपालमा रेकर्ड गरि बि. स. २०५६ सालमाम्हेन्दोमाया नामक एल्बम म्हेन्दोमाया युवा समाज नेपालले बजारमा ल्याएको थियो ।जसमा ८ वटा गीतहरु रहेको थियो ।

रेडियो नेपालको फुलबारी कार्यक्रममा बि.स. २०४८ सालमा म्हेन्दोमाया भाकाको पहिलो रेकर्ड लेक योञ्जनको स्वरमा भएको थियो । लेक योन्जनलाई म्हेन्दोमायाका पहिलो गायक हुन्। तत्कालिन समयमा म्हेन्दोमाया युवा समाज नेपालको सामाखुसी स्थित कार्यालयमा हेम वाईबाले गितार, हार्मोनियम तथा किबोर्ड बजाउदै कलाकारहरु रमला पाख्रिन, कमला पाख्रिन, स्व.योगिता मोक्तान र पूर्ण पाख्रिनलाई अभ्यास गरी रेकर्ड गराएका थिए ।

त्यसपछि बि. स. २०५९ सालमा दोश्रो एल्बम कप्चङ, बि.स. २०६२ सालमा ल्हाल्हुङ निकालेका थिए। बि.स. २०६२ सालमै चौथो एल्बमको रुपमा सागर एस. वाईबाको साईकल कोरोरो एल्बम म्युजिक डट कमले बजारमा ल्याएको थियो। हालसम्म आईपुग्दा कयौ म्हेन्दोमाया भाकाको एल्बम र कलाकारहरु आगमन हुने क्रम तिब्र रुपमा बढिरहेको छ । जसले गर्दा म्हेन्दोमाया गीत संगीतलाई हुर्काउने र बढाउनेहरु सकारात्मक रुपमा वृद्धि भएको छ । हाल म्हेन्दोमाया गीत पनि स्थानीयबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तर्राष्ट्रीय सम्मान तथा महत्वपूर्ण अवार्डहरु पाउन समेत सफल भैसकेको छ ।

म्हेन्दोमाया बारे शिक्षक, लेखक तथा म्हेन्दोमाया अनुसन्धानकर्ता गोपाल फ्युबा तामाङको लेख पढ्नुहोस ।

गोपाल फ्युबा तामाङ

शिक्षक, म्हेन्दोमाया अनुसन्धानकर्ता तथा लेखक, धादिङ ।

पृष्ठभूमि
‘लोकसाहित्य कुनै पनि जाति वा समुदायको भाषा, साहित्य, कला र संस्कृतिको आधार हो । लोक दर्शनबाटै समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षहरू सञ्चालित भएका हुन्छन् । जसले मानव हुनुको पूर्णतालाई अघि सार्दै जीवनलाई बाँच्न र बचाउन प्रेरित गर्दछ ।’ त्यही लोकसाहित्यको एक पाटो लोकगीत पनि हो । लोकले सिर्जना गरेको लोकको भाकाहरू नै लोकभाका हुन्। तामाङ समुदायमा प्रचलित धेरै लोक भाकाहरूमध्ये म्हेन्दोमाया पनि एक हो ।

परिचय
म्हेन्दोमाया नाचमूलक (स्यलु) तामाङ गीत हो । ‘म्हेन्दोमाया गाउँदै नाच्ने तामाङ गीतको एक विधा हो । यो परम्परागत गीत भने हैन । आधुनिककालका लोकदोहोरी शैलीका तामाङभाषी गीत नै म्हेन्दोमाया गीत हो ।’ यसमा ङ्योत्लु र स्यत्लुमार्फत नाम थर, ठेगाना, दुःख, पीडा, वेदनालगायत आफ्नो कहानी सुनाउँदछ । एकअर्कामा आदानप्रदान गरिन्छ । ‘प्रायः युवक समूह र युवती समूहमा यस्तो दोहोरी चले पनि कहिलेकाहीँ एकै प्रकारको लिंगबीच पनि हुन सक्दछ ।’ म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा गाउँदै नाच्ने विधा हो ।

क्षेत्र
खासगरी म्हेन्दोमाया ल्हाप्साङकर्पो क्षेत्रका गाउँघरमा चलेको एक भाका हो । राजधानीदेखि पश्चिमका तामाङहरूको मौलिक र परम्परागत भाकाहरू तामाङ पहिचान र चिनारीका लागि अत्यन्तै महत्व छ । जसमध्ये म्हेन्दोमाया विशेष अत्यन्त लोकप्रिय भाका हो । बागमती प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायः गाउँहरूमा म्हेन्दोमाया सुन्न र नाचेको हेर्न सकिन्छ । बसाइसराइसँगै यो भाका पनि अन्य गाउँहरूमासमेत फैलिएको पाइन्छ । आधुनिक पद्दतिबाट अर्थात् ‘रेकर्डेड’ गीतहरू भने सबै तामाङ गाउँहरूमा सुनेको पाइन्छ ।

अध्ययनको थालनी
म्हेन्दोमायालाई अमृत योञ्जन–तामाङ, बिगेन्द्र एस वाइबा, गोपाल फ्युबा, लेक योञ्जन, रोशन फ्युबा तामाङ, सागर एस वाइबा, च्याउकीमाया तामाङ, आशिक गोङ्बो तामाङ, हेम वाइबा तामाङ, श्याम मम्बा, थर्चा लामालगायतले परिभाषा, प्रचलनबारेमा छलफल र बहस चलाउने गरेका छन् । तर व्यवस्थित र वैज्ञानिक अध्ययन अनुसन्धान भने कसैले गरिरहेको पाइँदैन । लेखक तथा पत्रकार फूलमान वलले ‘म्हेन्दोमाया’ नामक नाटक ल्याए तर त्यसमा गीतको चर्चा थिएन । उनैले वृत्तचित्र बनाइरहेको सूचना पाए पनि अहिलेसम्म बजारमा आइसकेको छैन ।

प्रारम्भ
म्हेन्दोमाया मनोरञ्जन गर्न सिर्जिएको मौलिक गीत हो । ‘एकले अर्कोलाई प्रश्न गर्ने तथा जवाफ दिई मनका कुराहरू पोखेर उपस्थित सबैलाई रमाइलो गर्ने तथा गराउने गर्दछन् ।’ यसलाई गाउँदै नाच्नुपर्छ । हात र कुम जोडेर अँगालो मारी दुई समूहबीच आमनेसामने नाच्दै सवालजवाफ हुने गर्दछ । यो गीत युवायुवतीबीच प्रेमालाप गराउनै प्रारम्भ भएको अनुमान छ ।

पशुपालन, कृषिमा व्यस्त जीवनमा कहिलेकाहीँ आउने जात्रा, पर्व, मेला र उत्सवमा पनि धार्मिक गीतको विकल्पमा म्हेन्दोमायाको प्रारम्भ भएको बुझ्न सकिन्छ । यस्तै प्रकारको वरवर, डम्बा आदि गीतहरू म्हेन्दोमायाभन्दा अघि अस्तित्वमा थिए । पछि एकाएक म्हेन्दोमाया प्रचलनमा आएपछि ती गीत छायामा परेका हुन् ।

आधुनिकतातर्फ म्हेन्दोमाया
म्हेन्दोमायाको प्रयोग र प्रचलन गाउँगाउँमा मज्जाले चलेपश्चात् सञ्चारको माध्यमसमेत खोजेको पाइन्छ । म्हेन्दोमायालाई सञ्चारको दुनियामा ल्याउने काम लेक योञ्जनले गरे । उनले रेडियो नेपालको फूलबारी कार्यक्रममा २०४८ पुस २ गते प्रत्यक्ष गाएर सञ्चार क्षेत्रमा प्रवेश गराएका हुन् । त्यसैले म्हेन्दोमायालाई परम्परागत युगबाट आधुनिकतातर्फ ल्याउने श्रेय योञ्जनलाई नै जान्छ (हे. तामाङ, गोपाल फ्युबा, सन्दर्भ म्हेन्दोमाया साँझको, कुरा इतिहासको) ।

‘म्हेन्दोमाया युवा समाज नामक संस्थाले म्हेन्दोमायाको सामूहिक र संस्थागतरूपमा विकास, संरक्षण र संवद्र्धनमा लागेको इतिहासलाई कसैले नजरअन्दाज गरिनु हुँदैन ।’ म्हेन्दोमाया युवा समाजकै पहलमा पहिलो एल्बम ‘म्हेन्दोमाया’ वि.सं. २०५६ मा ल्याएको थियो । दोस्रो एल्बम ‘कप्चङ’ वि.सं. २०५९ मा निकालियो ।

त्यसपछि म्हेन्दोमाया युवा समाजमा सिथिलता आयो र व्यक्तिगत पहलमा वि.सं. २०६२ मा आइपुग्दा हेम वाइबाको ‘ल्हल्हुङ’ र सागर वाइबाको ‘साइकल कोरोरो’सम्म आइपुग्दा म्हेन्दोमायाले सहरी कार्यक्रमहरूमा पनि एक प्रकारको स्थान बनाइसकेको थियो । त्यसपछि म्हेन्दोमाया क्षेत्रमा सयौं गीतहरू आइसकेका छन् । अब हजारौंको यात्रामासमेत लाग्दै छन् ।

अहिले म्हेन्दोमाया गीत संगीतको उत्पादन, प्रचारप्रसार गर्नका लागि कम्पनी नै सञ्चालन गरी व्यावसायिकता दिइरहेका छन् । दर्जनौं म्हेन्दोमायाप्रेमीहरू लागिरहेका छन् । म्हेन्दोमाया गाउनका लागि देशका विभिन्न गाउँहरूसँगै विदेशमासमेत कलाकारहरू पुगेका छन् । यो सुखद पक्ष हो ।

अझ ‘म्हेन्दोमाया म्युजिक अवार्ड’ समेत आयोजना गरिसकेका छन् । जसले म्हेन्दोमायामा पनि उत्कृष्ट खोज्ने क्रमको सुरूआत भएको मान्न सकिन्छ । ‘समय र परिस्थितिअनुसार म्हेन्दोमाया गीतहरूले बिस्तारै आफ्नो सीमित घेरालाई बिट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुँदै गइरहेको छ । म्हेन्दोमाया संगीतमा समर्पित स्रस्टाहरूले यहाँसम्म ल्याउनका लागि धेरै वर्ष कडा मिहेनत गर्नुपर्‍यो । धेरै संघर्षपश्चात् म्हेन्दोमायाको दायरा फराकिलो भएको छ ।’ तर गाउँमा गाउने लोकसर्जकहरू भने बिस्तारै ओझेल पर्दै गइरहेका छन् । यसरी वास्तविक लोकसर्जकहरूलाई नजरअन्दाज गरिनु कोठे गीतको सिर्जना बढ्नु हो । जसले पहिचान र मौलिकता सिध्याउँछ । अपनत्व गुमाउँदछ ।

म्हेन्दोमायाको महत्व
मौसम र प्रकृतिमा आधारित गाउँले तामाङहरूको दिनचर्यामा मनोरञ्जन दिलाउने म्हेन्दोमाया ‘पश्चिमी भेगका तामाङ जातिले आफ्नो समाजको मुख्य सांस्कृतिक नाच, मुख्य गीत र अति महत्वपूर्ण गहनाको रूपमा लिएको पाइन्छ ।’ दुःख, पीडा भुलेर रमाउने अवसर म्हेन्दोमायाले दिन्छ । प्रेमालाप गर्ने मौका दिन्छ ।

तत्कालीन परिवेशमा मौखिकरूपमा सिर्जना गरिएका म्हेन्दोमायामा यथार्थ परिवेश र सन्दर्भहरू समेत पर्दछन् । विभिन्न प्रतीक र विम्बहरूको प्रयोगले लोकसाहित्यको महत्व बढाउँदछ, यो गुण म्हेन्दोमायामा पाइन्छ । म्हेन्दोमाया नाच्दा एकताबद्ध भएर नाचिन्छ, जसले एकताको प्रवद्र्धन गरिरहेको हुन्छ ।

अरू वरवर गीतहरूले जस्तै म्हेन्दोमायाले भाषासमेत जोगाइ एकताको भावना जोगाउने हुनाले म्हेन्दोमायाको महत्व विशेष रहेको छ । त्यसैले भाषा, संस्कृति, परम्पराको सम्झना, जगेर्ना र अनुभवसमेत म्हेन्दोमायाले दिलाउने हुनाले भाषिक, सांस्कृतिक र सामाजिक महत्वसमेत रहेको छ ।

संगति र विसंगति
गाउँघर, मेलापात, जात्रापर्व वा कुनाकाप्चामा मात्र गाइने नाचिने म्हेन्दोमाया अहिले सहरबजारका डिजे पार्टी तथा कन्सर्टहरूमासमेत घन्किन थालेको छ ।यसले म्हेन्दोमायाको दायरा फराकिलो बनाउँदछ । तर गीत चलाउने नाममा ‘भल्गर’ (अपाच्य) शब्दहरू समेत राख्नु मौलिकताको उपहासबाहेक केही हैन ।

बन्द कोठामा सिर्जना गरिएका गीतले गाउँको यथार्थ चित्रण हुन सक्दैन । पछिल्लो समयमा आएका अधिकांश गीतमा ठेट तामाङ शब्द भेटिदैनन् । म्हेन्दोमाया शब्द दोहोर्‍याउँदैमा म्हेन्दोमाया गीत बन्दैन भन्ने हेक्का राख्नु जरूरी छ । म्हेन्दोमाया गीत सामान्य मनोरञ्जन दिलाउने गीतमात्र नभएर मौलिकता र पहिचानका आवाजहरू बुलन्द गर्नसक्ने शब्द चयन हुन सक्नुपर्दछ । साथै म्हेन्दोमाया बिटभन्दा अन्य गीत तामाङ गीतमात्रै हुन्, म्हेन्दोमाया हैन ।

चासो र चिन्ता
‘शेलु, दोरा लु, दे लु, चोम्लु, थुलु, छेर्लु, क्षाङ्लु, ह्याच्युङ, से से बोम्बो, मानी, नम्दर आदि तामाङका ठेट गीतहरू हुन् ।’ यस्तो बाहेकको गीत म्हेन्दोमाया हो । ‘म्हेन्दोमायाको अर्थ फूलमाया हुन्छ । फूल फक्रिँदा बास्ना हुन्छ । राम्रो देखिन्छ । भगवान्लाई चढाइन्छ । मायालाई फूलसँग यसरी दाँजेर राम्रो बनाउने यो कति राम्रो काइदा हो ।

साँचो मायालाई पवित्र मानिन्छ । तामाङ भाषा र साहित्यमा प्रतीक र विम्बलाई विशेष जोड दिएको हुन्छ । यो नै सुन्दर पक्ष हो । यसलाई मर्न दिनु हँुदैन ।’ पवित्र फूलसँग दाजिएको मायालुको सम्झना अंग्रेजी वा नेपाली भाषामा महसुस गर्न सकिन्न । अपनत्व महसुस नगरिने गीत संगीतले बजार भाउ पाइन्न । तत्काल केही प्रभाव देखे पनि कालान्तरमा ती गीतहरू सम्झिने छैनन् ।

अन्त्यमा
‘तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्व छ । यो गीत ठ्याक्कै यही मितिबाट सुरू भएको भन्ने यकीन तिथि र मिति नभएता पनि त्रिशूली खोला पारिका तामाङ गाउँहरूमा पुस्तौं पुस्ता अगाडिदेखि मेलापात गाउँघर वनपाखामा गुञ्जिँदै आइरहेकोमा दुईमत छैन । कन्सर्टको नाममा आधुनिक युवायुवतीलाई मनोरञ्जन दिनकै निमित म्हेन्दोमायाले आधुनिकता अँगाल्ने हो भने आफ्नो मौलिकता हराएर जाने छ ।’ यसबारेमा सबै सर्जक तथा म्हेन्दोमायाप्रेमीहरू सोचनीय बन्नुपर्दछ । हामीले आफ्नो मौलिकता जोगाउनेतर्फ पाइला बढाउनुपर्दछ । मौलिकतामा नै हाम्रो पहिचान लुकेको हुन्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट नेपाली र पाठ्यक्रम तथा मूल्यांकन विषयमा स्नातकोत्तर गरेका लेखक फ्युबाले तामाङ लोकसाहित्य, लोकदर्शन, इतिहासमा नियमित कलम चलाउँदै आएका छन् । उनका तामाङ गाउँखाने कथा (२०७१), म्हन्दङ (स्थान परिचय, २०७२), क्रान्तिकारी सेक्के: खनियावास विद्रोहका अगुवा (जीवनी, २०७४) र रङक बोम्बो (कथा संग्रह २०७५) प्रकाशित छन् ।)

म्हेन्दोमाया कलाकार संघ नेपालले तयार पारेको तामाङ जातिको राष्ट्रिय गान

म्हेन्दोमाया कलाकार संघ नेपालको आधिकारिक युट्युब च्यानल

NEWS UPDATE


म्हेन्दोमाया कलाकार संघ नेपालकाे आठौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०८०

पृष्ठभुमी म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति बि.स. 2072 मंसिर 29 गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना काल देखी

  • mhendomaya

म्हेन्दोमाया के हो ? यसको उत्पति र विकासक्रमको बारेमा जान्‍नुहोस ।

मिति २०७९ कार्तिक १९ गते आशिक गोङ्बो तामाङ क. म्हेन्दोमायाको उत्पति:- म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९ औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु

म्हेन्दोमाया कलाकार संघ नेपालकाे सातौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०७९

पृष्ठभुमीः म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति मिति २०७२ मंसिर २९ गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित एक विशुद्ध मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना

भावपूर्ण श्रद्धञ्‍जली !

नेपाली तथा तामाङ लोक कला क्षेत्रका युग पुरुष, वरिष्ठ कलाकार आदरणीय श्री जयनन्द लामाज्यूको असामयिक निधनले हामी मर्माहत भएका छौँ । उहाँको निधनले समग्र कला क्षेत्रमा ठुलो क्षति पुगेको छ । शोकको यस घडीमा दिवंगत

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

म्हेन्दोमाया कलाकार संघ नेपाल रुवीभ्याली गाउँपालिका कार्यसमिति धादिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्ष श्री जयबिर तामाङज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्युमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं। -म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमिति परिवार ।

CONTACT MEMBERSHIP FORM


NEWS & nOTICE


म्हेन्दोमाया कलाकार संघ नेपालकाे आठौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०८०

पृष्ठभुमी

म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति बि.स. 2072 मंसिर 29 गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित

  • mhendomaya

म्हेन्दोमाया के हो ? यसको उत्पति र विकासक्रमको बारेमा जान्‍नुहोस ।

मिति २०७९ कार्तिक १९ गते

आशिक गोङ्बो तामाङ

क. म्हेन्दोमायाको उत्पति:-

म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन्