म्हेन्दोमाया कलाकार संघ नेपालकाे आठौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०८०

पृष्ठभुमी

म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति बि.स. 2072 मंसिर 29 गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना काल देखी नै म्हेन्दोमाया संगीतमा निरन्तर लागि परिरहेका कलाकारहरुको व्यवसायिक जीवनलाई महत्वका साथ हेरिरहेको छ । हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो। त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया(तामाङ) कलाकारहरूको प्रमुख दायित्व हो । यसरी कलाकार संघ जन्म हुनु पूर्वका केही विषयवस्तुहरु जस्तैःम्हेन्दोमाया संगीत विधाको उत्पति, म्हेन्दोमाया कलाकारहरुको जन्म र म्हेन्दोमाया आजको उचाई ‘सम्म आउन कति समय लाग्यो अर्थात् यसको विकासक्रम लगायतका विभिन्न विषयहरुको तलबुँदागत रुपमा छोटो चर्चा गरिएको छ।

क.   म्हेन्दोमायाको उत्पति:-

म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु तिर धादिङ, नुवाकोट र रसुवाको व्यपारिक केन्द्र त्रिशुली आसपासबाट भएको भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा, गोपाल फ्युबा, लेक योन्जन,सागर एस. वाईबा, राम गोम्जा,रोशन फ्युबा तामाङ,युबी मोङग्रेसा, च्याउकी माया तामाङ, हेम वाईबा,आशिक गोङ्बो तामाङ, आरम्भ तामाङर म्हेन्दोमाया श्रेत्रका पुराना सर्जकहरुको अनुसन्धान र नुवाकोट, रसुवा र धादिङका विभिन्न गाउँका अनुयायीहरुसंग छलफल गर्दा म्हेन्दोमाया भिन्न भिन्न गाउँमा फरक-फरक समयमा गाउन थालेको पाईन्छ। नुवाकोट, धादिङ र रसुवाका मानिसहरु विभिन्न व्यपारिक उद्देश्य तथा मेलापातमा सहभागी हुने क्रममा नुवाकोटको त्रिशुलीमा म्हेन्दोमाया गीतहरुको आदान-प्रदान भएको पाईन्छ ।

ख.   म्हेन्दोमाया के हो ?

म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा हो ।यो बिशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका ल्हापसङकर्पो भेगमा बसोबास गर्ने सुन्दर तामाङ बस्तीहरुमा तामाङ भाषामा तामाङ जातिले गाउने र तामाङ बस्तिहरुमा लोकप्रियएउटा मौलिकसंगीत हो ।

 

यसलाई पश्चिमी भेगका तामाङ समुदायले आफ्नो समाजको मुख्य साँस्कृतिक नाच, मुख्य गीत र एक अति महत्वपूर्ण गहनाको रुपमा लिएको पाईन्छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले म्हेन्दोमाया नाचलाई प्रदर्शनकारी लोक नाटकको रुपमा पनि परिभाषित गरेको छ । जहाँ महिला र पुरुषले अत्यन्तै मिठासपुर्ण तरिकाले कुनै पनि शुभकार्य, चाडपर्ब, बिबाह, ब्रतबन्ध, घेवा(अन्तिम संस्कार) तथा अन्य बिभिन्न कार्यक्रमहरुमा कुनै एक सर्त (चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त राख्न पनि पछि पर्दैनन्) राखी महिला एकातिर र पुरुष अर्कोतिर एक आपसमा खुट्टाको ताल मिलाई(स्याफ्रु डिक्जीम), कुममा कुम मिलाई र हातमा हात समाई बिचमा सगुन (रक्सी, विभिन्‍न किसिमका फलफुल तथा खानेकुराहरु) राखी युवा युवती सहित सबै उमेर समुहका व्यक्तिहरुले आफ्नो गला र कला देखाउदै गाउने, नाच्ने र नचाउने गर्दछन् ।

 

म्हेन्दोमाया गाउने मात्र नभई संगै नाच्ने पनि हुनाले म्हेन्दोमायाको आफ्नै मौलिकता छ । एकताका लोप भईसकेको म्हेन्दोमाया गीतहरुलाई हाल आएर सर्जकहरुले आफ्नो कला तथा गलाको प्रयोग गरी सजिलै हेर्न तथा सुन्नको लागि Audio तथा Video मा उपलब्ध गराई रहेका छन् । बिगत दुई दशक भन्दा अगाडी तत्कालीन म्हेन्दोमाया युवा समाजको सक्रियतामा हेम वाईबाको शब्द संगीतमा यो विधालाई Audio र Video मार्फत सार्वजानिक रुपमा औपचारिकता दिएका थिए ।

 

हाल आएर यो विधाको अनुसन्धान तथा व्यावसायीक हिसाबले थुप्रै ब्यक्तित्वहरु लागी परेका छन र लाग्ने क्रम पनि बढीरहेको छ ।समय र परिस्थिति अनुसार म्हेन्दोमाया गितहरुले बिस्तारै आफ्नो सीमित क्षेत्रलाई बीट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुदैछ र समाजसंगै म्हेन्दोमाया पनि बिस्तारै आधुनिकता तर्फ फड्को मारीरहेको छ र यो विधाको तिब्र रुपमा बिकास हुदै गईरहेको छ ।

 

ग.    म्हेन्दोमायाको विकासक्रम:-

राजधानी देखि पश्चिमका (त्रिशुली पारि) तामाङहरुको मौलिक र परम्परागत गीत भाकाहरु तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्वपूर्ण छ । जस मध्ये म्हेन्दोमाया अत्यन्त लोकप्रिय भाका हो। तामाङहरुको जीवन शैली र जीवन पद्धतिमा खास भूमिका राख्ने यो भाका र नाचले खासै चर्चा र प्रचार नपाएर ओझेलमा परेका म्हेन्दोमाया भाकाहरु समेटिएको एल्बम पहिलो पटक हेम वाईबाको संगीत संकलनमा म्युजिक नेपालमा रेकर्ड गरि बि. स. २०५६ सालमाम्हेन्दोमाया नामक एल्बम म्हेन्दोमाया युवा समाज नेपालले बजारमा ल्याएको थियो ।जसमा ८ वटा गीतहरु रहेको थियो ।

 

रेडियो नेपालको फुलबारी कार्यक्रममा बि.स. २०४८ सालमा म्हेन्दोमाया भाकाको पहिलो रेकर्ड लेक योञ्जनको स्वरमा भएको थियो । लेक योन्जनलाई म्हेन्दोमायाका पहिलो गायक हुन्। तत्कालिन समयमा म्हेन्दोमाया युवा समाज नेपालको सामाखुसी स्थित कार्यालयमा हेम वाईबाले गितार, हार्मोनियम तथा किबोर्ड बजाउदै कलाकारहरु रमला पाख्रिन, कमला पाख्रिन, स्व.योगिता मोक्तान र पूर्ण पाख्रिनलाई अभ्यास गरी रेकर्ड गराएका थिए ।

 

त्यसपछि बि. स. २०५९ सालमा दोश्रो एल्बम कप्चङ, बि.स. २०६२ सालमा ल्हाल्हुङ निकालेका थिए। बि.स. २०६२ सालमै चौथो एल्बमको रुपमा सागर एस. वाईबाको साईकल कोरोरो एल्बम म्युजिक डट कमले बजारमा ल्याएको थियो। हालसम्म आईपुग्दा कयौ म्हेन्दोमाया भाकाको एल्बम र कलाकारहरु आगमन हुने क्रम तिब्र रुपमा बढिरहेको छ । जसले गर्दा म्हेन्दोमाया गीत संगीतलाई हुर्काउने र बढाउनेहरु सकारात्मक रुपमा वृद्धि भएको छ । हाल म्हेन्दोमाया गीत पनि स्थानीयबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तर्राष्ट्रीय सम्मान तथा महत्वपूर्ण अवार्डहरु पाउन समेत सफल भैसकेको छ ।

उद्देश्‍य

सम्पुर्ण म्हेन्दोमाया कलाकारहरुको हक अधिकार सुचिश्चिताको लागि पहल गर्नुका साथै म्हेन्दोमाया कलाकार संघ नेपालको बार्षिक प्रतिवेदन पेश गर्नु रहेको छ।

परिचय

म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति स्थापना भएको मुनाफा रहित समाजिक संस्था हो । हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो। त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया कलाकारहरूको प्रमुख दायित्व हो ।

संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए पहिचान हराउँछ भन्ने नाराका साथ तामाङ संस्कृतिको विकासको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल संस्थागत रूपमा निरन्तर अगाडी बढिरहेको छ। संस्कृति र संस्कार बचाउन श्रष्टा एवम् सर्जकहरुलाई प्रोत्साहित गर्दै यसको विकास गर्न संघले संस्कार र संस्कृति केन्द्रित गतिविधिहरु गर्दै आइरहेको छ।

 महत्वः

म्हेन्दोमाया कलाकार संघ नेपालले सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी तामाङ कला संस्कृति र म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने उद्देश्यका साथ स्थापना भएकोले यसको महत्व रहेको छ। साथै तामाङ समुदायको विभिन्न किसिमका आन्दोलनहरुमा सहभागिता जनाउँदै आएको हुनाले यसको अझै बढी महत्व रहेको छ ।

औचित्य (Significance)

म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ ।

यसरी तामाङ समुदायको मौलिक कला संस्कृतिको उत्थान तथा पश्चिमेली तामाङ समुदायमा अत्यन्तै लोकप्रिय म्हेन्दोमाया संस्कृतिको परीधी राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा व्यापक भैइसक्दा पनि यसको उत्थानको निमित्त बिगत २ दशक भन्दा लामो समयदेखी म्हेन्दोमाया संगीतमा समर्पित म्हेन्दोमाया श्रष्टाको हक-हित, उनीहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनको जटिल समस्या समाधान र उनीहरुलाई यही क्षेत्रमा निरन्तर लागि रहन प्रोत्साहनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालले अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय रुपमा व्यापक बनाउने हेतुले स्थापना भएको सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको साझा संस्था भएकोले यसको औचित्य पुष्टि गर्दछ।

हालसम्म संस्थाले गरेका केही महत्वपूर्ण कार्यक्रमहरु

  • 2072 सालको महाभुकम्पमा नुवाकोट रसुवा र धादिङका विभिन्न ठाँउहरुमा राहात सामाग्री वितरण तथा तथा पुनः निर्माण कार्यक्रम गरिएको ।
  • 2073 सालमा रक्तदान कार्यक्रम गरिएको।
  • ब्लड क्यानसरबाट पिडित खनियाबास-5 धादिङ निवासी बिरेन तामाङ बचाउ अभियान सहित धादिङ र नुवाकोट विभिन्न ठाँउमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको ।
  • हरेक बर्ष ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गरिएको ।
  • हरेक बर्ष म्हेन्दोमाया कन्सर्ट गरिएको ।
  • नुवाकोट, धादिङ र रसुवाको संगमस्थल सिङल्हामा म्हेन्दोमाया प्रतियोगिता गरिएको।
  • कलाकार संघको अक्षयकोष स्थापनाको लागि हरेक बर्ष देउसी भैलो कार्यक्रम गरिएको।
  • भैपरी आउँदा कलाकारहरुलाई आर्थिक सहयोग गरिएको ।
  • म्हेन्दोमायामा समर्पित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको ।
  • तामाङ जातिको विभिन्न किसिमका साँस्कृतिक आन्दोलनहरुमा र्याली सहित सहभागी भएको।
  • विभिन्न संघ संस्थाहरुले आयोजना गरेको साँस्कृतिक कार्यक्रमहरुमा मौलिक प्रस्तुति दिएको।
  • स्टेज कार्यक्रमहरुमा तामाङ जातिको मौलिक बाजा सहित 2 वटा लाईभ म्हेन्दोमाया र दोरा गीत प्रस्तुत गरिएको ।
  • विभिन्न किसिमका बाजाहरु खरीद गरिएको ।
  • नुवाकोट र धादिङ जिल्लामा जिल्ला शाखा विस्तार गरिएको छ । यसैगरी धादिङको रुवीभ्याली, खनियाबास, नेत्रावती डब्जोङ र गंगाजमुना गरी 4 वटा पालिका र नुवाकोटको किस्पाङ र म्यगाङ गरी जम्मा 6 वटा पालिकाहरुमा शाखा विस्तार गरिएको छ।(आ.व. 079/80 मा धादिङको खनियाबास र नुवाकोटको म्यागङ शाखा खारेज गरिएको)
  • विभिन्न रोगबाट पिडित कलाकार तथा अन्य केही माहनुभावहरुलाई आर्थिक सहयोग गरिएको।

आ.व. 079/80 मा भएका संस्थागत प्रगति विवरण

म्हेन्दोमाया कलाकार संघ नेपालको लागि यो बर्ष उपलब्धीमुलक नै रहयो। म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो विस्तारित बैठक तथा विभिन्न समयमा भएको बैठकहरुमा तर्जुमा गरिएका योजनाहरु करिब 51 प्रतिशत सफल भएको छ।

म्हेन्दोमाया कलाकार संघ नेपालले आ.व.079/80 मा गरेका प्रगति विवरणहरु संक्षिप्त रुपमा तल उल्लेख गरिएको छ।

  • म्हेन्दोमाया कलाकार संघ नेपालको सातौ बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरिएको।
  • म्हेन्दोमाया दिम निर्माणको लागि आवश्यक प्रकृया चालिएको।
  • कलाकारहरुको अक्षयकोषमा थप रकम जम्मा गर्नको लागि देउसी भैलो कार्यक्रम संचालन गरिएको।
  • तामाङहरुको महान पर्व 2859 औं सोनाम हे-ल्हो को पावन अवसर पारेर पूर्व कानुन न्याय तथा संसदीयय मामिला राज्यमन्त्री माननयीय दिलमान पाख्रिनज्यूको प्रमुख आतिथ्यतामा मिति 2079 माघ 21 गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको।
  • ईतिहासमा नै पहिलोपटक नेपाली सेनाले सेना दिवसको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरु माझ म्हेन्दोमाया गीतमा 500 जनाले सामुहिक नृत्य प्रस्तुत गरि म्हेन्दोमाया गीतलाई विश्वमाझ पुर्याउने अभियानमा साथ दिनुभएकोमा नेपाली सेना तथा सकल दर्जाका कर्मचारीहरुलाई विशेष सम्मान कार्यक्रम गरिएको।
  • मुटु सम्बन्धी रोगबाट पिडित हुनुभएकी मोडल पूर्णामा लामाज्यूलाई संघको अक्षयकोषबाट रु.20,000।- नगद सहयोग गरिएको ।
  • पूर्णिमा लामा बचाउ अभियान संचालन गरि रु. 2 लाख 66 हजार रकम हस्तान्तरण गरिएको।
  • आर्थिक कारोबार पारदर्शी होस भन्ने हेतुले अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त हस्ताक्षर रहने गरी राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा संघको नाममा खाता खोली सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत गरिएको।
  • विदेशमा रहेका विभिन्‍न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुलाई आफ्नो कार्यालयमा निमन्त्रणा गरी म्हेन्दोमाया कलाकार र म्हेन्दोमायासंग सम्बन्धी विशेष सल्लाह सुझाव लिने तालिका बनाई सल्लाह सुझावहरु संकलन गरिरहको छ ।
  • म्हेन्दोमाया कलाकारहरुलाई कुनै पनि ठाँउमा जाँदा आफ्नो परिचय डिजिटल्ली देखाउन सकियोस भन्‍ने हेतुले म्हेन्दोमाया कलाकार संघ नेपालले आफ्नै नामको वेभसाईट mhendomayaartist.org.np मार्फत कलाकारहरुको विस्‍तृत विवरण डिजिटल्ली अपडेट गरी QR कोड सहितको परिचय पत्र (ID-Card) वितरण गरिएको।
  • म्हेन्दोमाया कलाकार संघले यो बर्ष 1 जना आजीवन सदस्य र 3 जना नयाँ सदस्यहरु थप गर्न सफल भएको छ भने उहाँहरुलाई परिचय पत्र तथा सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको।
  • म्हेन्दोमाया कलाकार संद्ध नेपालको शाखा विस्तार गर्ने क्रममा गंगाजमुना गाँउपालिका धादिङ्गमा शाखा स्थापना गरिएको।

भावी योजना

म्हेन्दोमाया कालाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको हक-हितको सुनिश्चितताको लागि स्थापना भएको मुनाफा रहितको संस्था हो । यस संस्थाले  म्हेन्दोमाया कलाकारहरुको हकहितको सुनिश्चितता गर्न र तामाङ जातिको कला, संस्कृति, भाषा, भेषभुषा, परम्परा तथा रितिरिवाजलाई विश्वमा चिनाउन विभिन्न योजनाहरु अगाडी बढाई कार्य गर्दै आईरहेको छ । उक्त कार्यलाई निरन्तरता दिनको लागि म्हेन्दोमाया कलाकार संघ नेपालको भावी योजनाहरु निम्नानुसार उल्लेख गरिएको छ।

  • म्हेन्दोमाया कलाकार संघले आफ्‍नै अगुवाईमा म्हेन्दोमाया दिम र त्यस भित्र म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय कार्यालय र तामाङ संग्राहलय बनाउने निर्णय गरी उक्त योजनाको विस्तृत अध्यायन, जग्गा नामसारी, भवनको नक्सा र सहयोग संकलनको लागि प्रपोजल लगायतका विभिन्‍न प्रकृया अगाडी बढाई कार्य थालनीको अन्तिम चरणमा रहेको।
  • म्हेन्दोमाया कालकार संघ नेपालको अगुवाईमा निर्माण हुन लागेको म्हेन्दोमाया दिम निर्माण योजना सफल पार्नको लागि दिपावली 2080 को पावन अवसरमा 3 दिन देउसी भैलो कार्यक्रम आयोजना गरिनेछ ।
  • म्हेन्दोमाया कलाकारहरुलाई म्हेन्दोमाया गीत संगीत सृजना गर्न प्रोत्साहन होस भन्‍ने हेतुले रोयल्टी वितरण सम्बन्धी प्रकृया बढीरहेको छ ।
  • म्हेन्दोमाया कलाकारहरुको लागि प्रति कलाकार रु 10 लाख बराबारको लाभ हुने गरी बिमा योजना अगाडी बढी रहेको छ ।
  • म्हेन्दोमाया कलाकारहरुको बृद्धि विकासका लागि निशुल्क कक्षा संचालन गरिनेछ ।
  • म्हेन्दोमाया गीत संगीतको खोज, अध्ययन तथा अनुसन्धान गर्नको लागि विज्ञ सहितको टोली खटाई म्हेन्दोमाया सम्बन्धी थप विवरण सहितको विस्तृत दस्तावेज तयार गरिनेछ।
  • म्हेन्दोमाया कलाकार संघ नेपालले प्रत्येक बर्ष कम्तिमा 2 वटा साँस्कृतिक कार्यक्रम, 2 पटक रक्तदान कार्यक्रम, 1 पटक सरसफाई कार्यक्रम, 2 वटा अन्तरक्रिय कार्यक्रम र विभिन्‍न ठाँउमा आवश्यक परेको खण्डमा श्रमदान समेत दिने योजना पारित गरेको छ ।
  • कलाकारहरुलाई गम्भिर किसिमको रोग लागी उपचारमा समस्या भएमा विभिन्न ठाँउमा साँस्कृतिक कार्यक्रम सहित बचाउ अभियान चलाईनेछ ।
  • कलाकारहरु वैदेशिक कार्यक्रममा जाँदा केन्द्रबाट विदाई तथा वेलकम कार्यक्रम राखी कलाकारलाई प्रोत्साहित बनाईनेछ ।
  • संघका पदाधीकारी तथा अन्य सदस्यहरुले विभिन्न ठाँउमा गर्न सक्ने भ्रष्टाचार नियन्त्रण तथा कलाकारहरुको गुनासो सुन्नको लागि गुनासो तथा सुझाव पेटिका राखिनेछ । जसमा कलाकारहरुले आफ्नो परिचय नखुलाई लिखितम सुझाव तथा अन्य गुनासोहरु पेश गर्न सकिनेछ। कलाकार तथा गुनासो कर्ताले भिडियो वा अडियो मार्फत गुनासो राख्न चाहेमा info@mhendomayaartist.com मार्फत ईमेल पठाउन सकिनेछ ।
  • बार्षिक प्रगति विवरणको आधारमा प्रत्येक बर्षको साधारण सभामा विभिन्न जिल्ला तथा पालिकामा रहेका शाखाहरुबाट एउटा शाखालाई बर्षकै उत्कृष्ट शाखा घोषणा गरिनेछ र उक्त शाखालाई ल्होछार विशेष कार्यक्रममा सम्मान गरिनेछ ।
  • प्रत्येक कार्यक्रममा कार्यक्रममा म्हेन्दोमाया क्षेत्रलाई विशेष योगदान पुर्याउने 1 जना गैर कलाकार तथा म्हेन्दोमाया संगीतलाई निरन्तरता दिईरहने 1 जना कलाकारलाई विशेष सम्मान गरिनेछ ।
  • म्हेन्दोमाया कलाकारहरुको जीवन स्तर सुधार गर्नको लागि विभिन्न किसिमका सीपमुलक तालिमहरु संचालन गरिनेछ।
  • आवश्यक पोशाक तथा बाजाहरु खरीद गरिनेछ।

समस्या तथा सुझाव

म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना कालदेखी नै सदैव कलाकारहरुको हक-हित र जीवनस्तर सुधारको लागि समर्पित हुँदै विभिन्न कार्यहरु गर्दै आईरहेको छ । उक्त कार्यलाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानका लागि आन्तरिक तथा बाह्य रुपमा रहेका व्यक्तिगत कुराहरुलाई संस्थागत रुपमा छलफल गरी सम्पूर्ण कलाकारहरु एकताबद्ध भएर अगाडी बढ्न अति आवश्यक देखिन्छ। जसले गर्दा म्हेन्दोमाया गीत संगीतमा लाग्ने सुरसारमा रहेका भावी पुस्ता (Next Generation) तथा म्हेन्दोमाया क्षेत्रका सम्पूर्ण महानुभावहरुमा सकरात्मक सन्देश फैलिई संघ र म्हेन्दोमायाको विकासमा मद्दत गर्दछ।

निष्कर्ष

म्हेन्दोमाया संगीतमा समर्पीत कलाकारहरुको हक-हितको लागि स्थापित यस संस्था म्हेन्दोमाया श्रष्टा र म्हेन्दोमायासंग सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरुका लागि बढी महत्वपूर्ण रहेको छ। संस्थाले म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गर्दै कलाकारहरुको व्यक्तिगत तथा व्यवसायिक जीवनलाई सरल बनाउन निरन्तर कार्य गर्दै आईरहेको छ । संघको उद्देश्य प्राप्तिको लागि म्हेन्दोमाया कलाकारहरु एकीकृत भई यो संस्थालाई अझै सबल, सशक्त र सफल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ।

 

ल्हास्सो फ्याफूल्ला ।

जय म्हेन्दोमाया ।

थुजेछे ।

By | 2023-11-27T12:42:32+00:00 November 27th, 2023|ARTICLE, News Notices, NEWS UPDATE|