म्हेन्दोमाया के हो ? यसको उत्पति र विकासक्रमको बारेमा जान्‍नुहोस ।

मिति २०७९ कार्तिक १९ गते

आशिक गोङ्बो तामाङ

क. म्हेन्दोमायाको उत्पति:-

म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९ औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु तिर धादिङ, नुवाकोट र रसुवाको व्यपारिक केन्द्र त्रिशुली आसपासबाट भएको भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा, गोपाल फ्युबा, लेक योन्जन, सागर एस. वाईबा, राम गोम्जा, रोशन फ्युबा तामाङ, युबी मोङग्रेसा, च्याउकी माया तामाङ, हेम वाईबा, आशिक गोङ्बो तामाङ, आरम्भ तामाङ र म्हेन्दोमाया श्रेत्रका पुराना सर्जकहरुको अनुसन्धान र नुवाकोट, रसुवा र धादिङका विभिन्न गाउँका अनुयायीहरुसंग छलफल गर्दा म्हेन्दोमाया भिन्न भिन्न गाउँमा फरक-फरक समयमा गाउन थालेको पाईन्छ । नुवाकोट, धादिङ र रसुवाका मानिसहरु विभिन्न व्यपारिक उद्देश्य तथा मेलापातमा सहभागी हुने क्रममा नुवाकोटको त्रिशुलीमा म्हेन्दोमाया गीतहरुको आदान-प्रदान भएको पाईन्छ ।

ख. म्हेन्दोमाया के हो ?

म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा संगीत विधा हो । यो बिशेषगरी नुवाकोट, रसुवा र धादिङ जिल्लाका ल्हापसङकर्पो भेगमा बसोबास गर्ने सुन्दर तामाङ बस्तीहरुमा तामाङ भाषामा तामाङ जातिले गाउने र तामाङ बस्तिहरुमा लोकप्रिय एउटा मौलिक संगीत हो ।

यसलाई पश्चिमी भेगका तामाङ समुदायले आफ्नो समाजको मुख्य साँस्कृतिक नाच, मुख्य गीत र एक अति महत्वपूर्ण गहनाको रुपमा लिएको पाईन्छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले म्हेन्दोमाया नाचलाई प्रदर्शनकारी लोक नाटकको रुपमा पनि परिभाषित गरेको छ । जहाँ महिला र पुरुषले अत्यन्तै मिठासपुर्ण तरिकाले कुनै पनि शुभकार्य, चाडपर्ब, बिबाह, ब्रतबन्ध, घेवा (अन्तिम संस्कार) तथा अन्य बिभिन्न कार्यक्रमहरुमा कुनै एक सर्त (चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त राख्न पनि पछि पर्दैनन्) राखी महिला एकातिर र पुरुष अर्कोतिर एक आपसमा खुट्टाको ताल मिलाई (स्याफ्रु डिक्जीम), कुममा कुम मिलाई र हातमा हात समाई बिचमा सगुन (रक्सी, विभिन्‍न किसिमका फलफुल तथा खानेकुराहरु) राखी युवा युवती सहित सबै उमेर समुहका व्यक्तिहरुले आफ्नो गला र कला देखाउदै गाउने, नाच्ने र नचाउने गर्दछन् ।

म्हेन्दोमाया गाउने मात्र नभई संगै नाच्ने पनि हुनाले म्हेन्दोमायाको आफ्नै मौलिकता छ । एकताका लोप भईसकेको म्हेन्दोमाया गीतहरुलाई हाल आएर सर्जकहरुले आफ्नो कला तथा गलाको प्रयोग गरी सजिलै हेर्न तथा सुन्नको लागि Audio तथा Video मा उपलब्ध गराईरहेका छन् । बिगत दुई दशक भन्दा अगाडी तत्कालीन म्हेन्दोमाया युवा समाजको सक्रियतामा हेम वाईबाको शब्द संगीतमा यो विधालाई  Audio र Video मार्फत सार्वजानिक रुपमा औपचारिकता दिएका थिए ।

हाल आएर यो विधाको अनुसन्धान तथा व्यावसायीक हिसाबले थुप्रै ब्यक्तित्वहरु लागी परेका छन र लाग्ने क्रम पनि बढीरहेको छ । समय र परिस्थिति अनुसार म्हेन्दोमाया गितहरुले बिस्तारै आफ्नो सीमित क्षेत्रलाई बीट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुदैछ र समाजसंगै म्हेन्दोमाया पनि बिस्तारै आधुनिकता तर्फ फड्को मारीरहेको छ र यो विधाको तिब्र रुपमा बिकास हुदै गईरहेको छ ।

ग. म्हेन्दोमायाको विकासक्रम:-

राजधानी देखि पश्चिमका (त्रिशुली पारि) तामाङहरुको मौलिक र परम्परागत गीत भाकाहरु तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्वपूर्ण छ । जस मध्ये म्हेन्दोमाया अत्यन्त लोकप्रिय भाका हो। तामाङहरुको जीवन शैली र जीवन पद्धतिमा खास भूमिका राख्ने यो भाका र नाचले खासै चर्चा र प्रचार नपाएर ओझेलमा परेका म्हेन्दोमाया भाकाहरु समेटिएको एल्बम पहिलो पटक हेम वाईबाको संगीत संकलनमा म्युजिक नेपालमा रेकर्ड गरि बि. स. २०५६ सालमा म्हेन्दोमाया नामक एल्बम म्हेन्दोमाया युवा समाज नेपालले बजारमा ल्याएको थियो । जसमा ८ वटा गीतहरु रहेको थियो ।

रेडियो नेपालको फुलबारी कार्यक्रममा बि.स. २०४८ सालमा म्हेन्दोमाया भाकाको पहिलो रेकर्ड लेक योञ्जनको स्वरमा भएको थियो । लेक योन्जनलाई म्हेन्दोमायाका पहिलो गायक हुन्। तत्कालिन समयमा म्हेन्दोमाया युवा समाज नेपालको सामाखुसी स्थित कार्यालयमा हेम वाईबाले गितार, हार्मोनियम तथा किबोर्ड बजाउदै कलाकारहरु रमला पाख्रिन, कमला पाख्रिन, स्व.योगिता मोक्तान र पूर्ण पाख्रिनलाई अभ्यास गरी रेकर्ड गराएका थिए ।

त्यसपछि बि. स. २०५९ सालमा दोश्रो एल्बम कप्चङ, बि. स. २०६२ सालमा ल्हाल्हुङ निकालेका थिए । बि. स. २०६२ सालमै चौथो एल्बमको रुपमा सागर एस. वाईबाको साईकल कोरोरो एल्बम म्युजिक डट कमले बजारमा ल्याएको थियो । त्यस एल्बम पश्चात रोशन फ्युबा र मिना लामाको पाटोला म्हेन्दो, राम गोम्जाको सेम्ला न्हेन, युबि मोङग्रेसाको साईकोले कोउ, आरम्भ तामाङको मुस्ताङ गाडीरी, मनोज लोप्चनको तामार म्हेन्दो तर, सौराम तामाङको सेम्की ल, आशिक गोङ्बो तामाङको कम्ती अरे ङ, किर्ति तामाङको वालावाला ग्रम्परी, जयबीर तामाङको लाउरे दब्बरी, लगायत हालसम्म आईपुग्दा कयौ म्हेन्दोमाया भाकाको एल्बम र कलाकारहरु आगमन हुने क्रम तिब्ररुपमा बढिरहेको छ । जसले गर्दा म्हेन्दोमाया गीत संगीतलाई हुर्काउने र बढाउनेहरु सकारात्मक रुपमा वृद्धि भएको छ । हाल म्हेन्दोमाया गीत पनि स्थानीयबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तराष्ट्रीय सम्मान तथा महत्वपूर्ण अवार्डहरु पाउन समेत सफल भैसकेको छ ।

म्हेन्दोमाया गीतहरुलाई भिडियो मार्फत योगदान दिने क्रममा थुप्रै म्हेन्दोमाया हस्तीहरुको निकै महत्वपूर्ण भुमिका रहेको जसमा सागर एस. वाईबाको चच्चारानी एल्बमबाट आफ्नै निर्देशनमा अभिनय गर्दै म्हेन्दोमाया क्षेत्रमा प्रवेश गरेका राज किङ वाईबा, राम गोम्जाको एल्बम सेम्ला न्हेन बाट म्हेन्दोमाया क्षेत्रमा प्रवेश गरेका मान बहादुर गुरुङ र मनोच लोप्चनको एल्बम तामर म्हेन्दो तर बाट अभिनय सुरु गरेका सिङ्गा बहादुर तामाङ लगायतका कलाकारहरुको महत्वपुर्ण भुमिका रहेको छ ।

 

By | 2022-11-04T08:52:51+00:00 November 4th, 2022|News Notices, NEWS UPDATE|